धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको १ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिएको छैन ।
संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले जेठ ३ गते विश्वासको मत पाइसकेका छन् ।
विश्वासको मत पाएलगत्तै १–२ दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकिरहेका छैनन् ।
मुख्यमन्त्रीको दल नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको सत्ता साझेदार दलले सहयोग नगरेको बताए । ‘हाम्रो कारणले मन्त्रिपरिषद् पूर्णता दिन ढिलाइ भएको होइन । यो सकसका बारेमा सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसदीय दलका नेतालाई तपाईंहरूले प्रश्न गर्न आग्रह गर्दछु,’ उनले भने ।
उनले मन्त्रालय फुटाएर कसैलाई मन्त्री बनाउँदा गलत सन्देश जाने भएकाले समाजवादी मन्त्रालय फुटाउने पक्षमा नरहेको बताए ।
कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भइरहेको बताइएको छ । नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने यसअघिको निर्णय अझै परिवर्तन गरेको छैन ।
एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, ‘अर्को निर्णय नगर्दासम्म एमाले मन्त्रिमण्डलमा नजाने भन्ने हो, सरकारमा जाने वा नजाने विषयमा पार्टीको केन्द्रीय नेतृत्वसँग परामर्श र प्रदेशमा सत्ता साझेदार दलसँग छलफल गरिरहेका छौं ।’
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार विकास र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारीमा छन् । अन्य मन्त्रालय मुख्यमन्त्रीले आफैंसँग राखेका छन् । सामाजिक विकास, आर्थिक मामिला, उद्योग, पर्यटन वन तथा वातावरण र आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्रीविहीन छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ १३ गते सुरू हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन जेठ १३ गते आईतबार अपराह्न ३ बजे बस्ने गरी आह्वान गरेका प्रदेशसभा सचिवालयले जनाएको छ ।