काठमाडौं । पछिल्लो समय थाइराइड रोगका बिरामी नेपालमा मात्र नभइ संसारभरि नै बढिरहेका छन् । थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । र, हर्माेन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ । त्यसकारण यो रोग महिलामा बढी देखिन्छ ।
थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ । नेपालमा थाइराइडका बिरामी कति छन् भन्ने विषयमा यकिन तथ्यांक छैन् ।
अहिले धेरैको चासो र चिन्ताको विषय बनिरहेको थाइराइड सम्बन्धी समस्याको बारेमा पूर्णायु आयुर्वेद हस्पिटलमा कार्यरत वरिष्ट आयुर्वेद चिकित्सक डा. लक्ष्मण पौडेलसंग के हो थाइराइड रोग ? यसका लक्षण र रोकथामका उपायहरु के–कस्ता रहेका छन् ? भन्ने प्रश्नका वरिपरि रहेर व्यवस्था डटकमका लागि भावना हमालले गरेको कुराकानीको संम्पादित अंश :
के हो थाइराइड ?
थाइराइड घाँटीको छेउमा पुतलीको आकारको ग्रन्थी हो । शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ । थाइराइड रोग होइन । यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो । यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ ।
यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो ।
थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ ।
थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ । त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ । यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ ।
टीएसएचले थाइराइड हर्माेन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।
थाइराइड रोग लाग्नुका कारण ?
सामान्यतया थाइराइड रोग आयोडिन भएको खानेकुरा एकदमै धेरै वा थोरै सेवन गरेमा लाग्ने गर्छ । यसले गर्दा अन्य रोग पनि लाग्न सक्छ । आयोडिनको अभावले थाइराइड कार्यक्षमता ह्रास आउँछ ।
आयोडिन नमिसाएको ढिके नुनको सेवन गर्ने समूहलाई यो रोग बढी लाग्छ । त्यसबाहेक कोदो, सिमी तथा कन्दमूल मात्र खाने व्यक्तिलाई पनि यो रोग धेरै मात्रामा पाइएको छ ।
यस्तै बाबुआमालाई यो रोग भएमा सन्ततीलाई पनि हुने सम्भावना धेरै हुन्छ । धेरै गिर्खायुक्त गलगाँड, विषाक्त प्रभाव, थाइराइड क्यान्सर आदिले पनि थाइराइड समस्या उत्पन्न हुन्छ ।
यो रोग शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण पनि लाग्ने गर्छ । वंशानुगत रुपमा पनि यो रोगले सताउने गर्छ । रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्छ ।
लामो समयसम्म औषधिका प्रयोगले पनि मानिसहरुमा थाइराइडको समस्या देखिने गर्छ । जस्तै : मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थाइराइड रोग लाग्न सक्छ ।
थाइराइडका लक्षण ?
- धेरै थकाइ लाग्नु, निन्द्रा बढि लाग्नु
- धेरै मोटाउनु वा दुब्लाउदै जाने
- धेरै जाडो वा गर्मी हुने
- कब्जियत हुने वा दिसा लाग्ने
- महिनावारी गडवढी हुनु
- गर्भ खेर जानु
- हातखुट्टा दुख्ने वा झमझमाउने
- कपाल धेरै झर्ने
- मुटुको चाल सम्बन्धि समस्या
- छाला सुख्खा हुनु
- डिप्रेसन (मानसिक तनाव)
खाना बार्नुपर्छ कि पर्दैन ?
थाइराइड रोग निको पार्नको लागि खानेकुरा बार्नुपर्ने हुन्छ । यो रोगलाई मात्र नभइ अन्य रोग निको पार्नको लागि पनि खानेकुरा बार्न आवश्यक हुन्छ ।
खानेकुरा नमिलाएर खाएकै कारण धेरै रोग लाग्छ । डक्टरले दिएको औषधीमात्र सेवन नगरी हामिले हाम्रो दैनिक जिवनशैलीलाई पनि परिर्वतन गर्न आवश्यक छ ।
यो रोगबाट बच्नको लागि गोभी, ब्रोकाउली, फुल गोभिलगाएतका केहि खानेकुरा खान हुदैन् । थाइराइडका बिरामीलाई एकै प्रकारको डाइट प्लानले काम गर्छ भन्ने पनि हुँदैन । स्वस्थ र सन्तुलित खानाले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र यो नै सबै स्वास्थ्य समस्याका लागि उपयुक्त हुन्छ ।
थाइराइडप्रति मानिसहरुको भ्रम छ । के थाइराइड भएका महिलाले सन्तान जन्माउनै नसक्ने भन्ने हुन्छ ?
थाइराइड भएका महिलाले सन्तान जन्माउनै नसक्ने भन्ने छैन् । थाइराइडप्रति मानिसहरुमा धेरै भ्रम छ । हर्मोनको गडबडीका कारण थाइराइड रोग हुनेहरुमा निःसन्तानपनको समस्या हुने गर्छ ।
तर त्यसको समयमै उपचार भएमा यस्तो समस्या रहँदैन । डा. पौडेल भन्छन् “थाइराइडको समस्या भएर बच्चा जन्मिदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो ।”
उनका अनुसार थाइराइडको समस्या हुँदा सजिलै बच्चा नबस्ने, बच्चा बसे पनि खेर जाने अथवा कमजोर बच्चा जन्मिने हुन्छ । तर बच्चै नहुने भन्ने हुन्न ।
थाइराइडका प्रकार
- थाइराइड दुइ प्रकारका हुन्छन् ।
१. हाइपोथाइराइडिज्म
२. हाइपर थाइराइड
हाइपोथाइराइडिज्मका लक्षणहरू
यसका लक्षयणहरु तौल बढ्नु, अनुहार, खुट्टा सुन्निने, कमजोरी हुनु, अल्छी हुनु, भोक नलाग्ने, धेरै निन्द्रा लाग्नु, धेरै जाडो हुनु, महिलाको महिनावारीमा परिवर्तन हुनु, कपाल झर्नु, गर्भधारणमा समस्या हुनु आदि ।
हाइपर थाइराइडका लक्षण
यसले अत्यधिक हर्मोन निस्कने भएकाले भोक लाग्ने र पर्याप्त खाना खाँदा पनि तौल घट्ने र झाडापखाला हुने गर्छ ।
यससँगै बेचैनी हुने, हात खुट्टा काँप्ने र गर्मीको अनुभूति हुने गर्छ । मूड स्विङ्स र अनिद्राको समस्या पनि हुन्छ । नाडी अस्थिर हुन्छ र दृष्टि कमजोर हुन्छ । थाइरोइडको समस्या पहिचान गर्नका लागि कुनै विशेष लक्षणहरू छैनन् ।
कहिलेकाहीँ हाइपो-थाइराइडिज्मलाई गम्भीर अवसादको समस्या भनी गल्ती गरिन्छ । यो समस्या धेरै मानिसहरूमा हुन्छ । धेरैले यसको उपचारमा ढिलाइ गर्छन् ।
थाइरोइडका १०५ बिरामी हाइपो-थाइराइडिज्मबाट पीडित छन्, तर तीमध्ये आधालाई आफ्नो समस्या नै थाहा हुँदैन । डा. पौडेलका अनुसार यसका लक्षण पुरुष र महिलामा समान भए पनि महिलामा चाँडै पत्ता लाग्छ ।
थाइराइड रोग लागेपछि जिन्दगीभर औषधि खानुपर्छ ?
थाइराइड विभिन्न कारणले हुने गर्छ । प्रतिरोधात्मक शक्तिको गडबडीबाट हुने थाइराइड जिन्दगीभरको रोग हो र औषधि सेवन पनि नियमित हुनुपर्छ । भाइरसको आक्रमणबाट हुने थाइराइड रोग केही समयपछि आफैं निको हुन्छ र औषधि सेवन जरुरी हुँदैन ।
थाइराइड र मोटोपन
थाइराइडले गर्दा बढ्ने वजन ४–५ किलोभन्दा बढी हुने गर्दैन । मोटोपन आफैंमा रोग हो । मोटोपनको उपचार खानपिन कन्ट्रोल गरेर र नियमित व्यायाम गरेर गर्नुपर्छ । थाइराइड लाग्यो भन्दैमा मोटोपन घटाउन नसकिने होइन, त्यसकारण थाइराइडले गर्दा मोटोपन घटाउन सकिँदैन भन्नु गलत हो ।
केही भ्रम र हल्लाले थाइराइडको बिरामीमा ठूलो डर र त्रास पैदा भएको देखिन्छ । थाइराइडको समयमै पहिचान गरेर सही उपचार गरेमा यस रोगले कुनै नकारात्मक असर पार्दैन ।
रोकथामका उपाय ?
- प्रयोगशालामा बनाएको थाइराइड हर्मोनको औषधिले तुरुन्तै असर कम गर्छ । यो अन्य औषधि सँग खानु हुँदैन र खाली पेटमा खानु पर्छ । खाना पनि एक घण्टा पछि मात्र खानु पर्छ । थाइराइड रोगको स्थायी समाधानको लागि निम्न उपायहरु अपनाउनु पर्छ ।
- आयोडिन कम गराउने खानाहरु कम खाने ।
- आयोडन नुन सलाड, चटनी अचारमा राखेर खाने गर्दा यो समस्या हुँदैन । दाल र तरकारीमा आयोडिन पाउन सेलाएको अवस्थामा आयोनुन राखेर खानु पर्छ ।
- विहान खाली पेटमा दाल चिनी राखेको चिनी नहालेको चियाले औषधिको काम गर्छ । त्यस्तै पानीमा वेसार र कालो मरिच राखेर पकाएको पानी विहान खाँदा पनि औषधिको काम गर्ने रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
- यस बाहेक शारिरीक ब्यायाम गर्नुपर्छ । सन्तुलित खाना, गेडागुडीहरु टुसा उमारेको र फलफुलहरु खानु फाइदाजनक हुन्छ । खाने तेलहरु बढी तताएर, खराएर खानु हुँदैन यसले खाना पचाउन दिदैन ।
- सजगता र सकारात्मक स्वभाव बढाएर पाचन शक्ति बलियो बनाउन योगा, ध्यान पनि आवश्यक हुन्छ ।
डाक्टर लक्ष्मण पौडेलको परिचय
बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा जन्मिएका डाक्टर लक्ष्मण पौडेल २०५६ सालमा एसएलसी पास गरीसकेपछि आयुर्वेदमा डिप्लोमा तहमा तिन बर्से पिसिएल गरेर आयुर्वेद क्षेत्रमा काम गर्न थालेका हुन ।
डाक्टर पौडेल अहिले पूर्णायु आयुर्वेद हस्पिटलमा कार्यरत छन् । दैनिक ५० देखि ७० जना सम्म बिरामी हेर्दै आएका पौडेल, २३ वर्षीय चिकित्सकीय पेसाको सिलसिलामा नेपालका दुर्गम देखि सुगम जिल्लाका ६५ भन्दा धेरै जिल्लाको अनुभव उनले बटुलिसकेका छन् ।