काठमाडौं । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट पदोन्नति भएका ४ जना प्रहरी अधिकृतलाई सोमबार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको आईतबारको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी नायब महानिरीक्षकहरूलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गरे । प्रहरी नायब महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी पदोन्नति भएका छन् ।
गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सो क्रममा महानिरीक्षक कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायत बढुवाका सम्पूर्ण आधारहरूको मूल्यांकन गरी पदोन्नति गरिएको बताए ।
पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘राज्य र संगठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनुहुनेछ भनी विश्वास लिएको छु ।’