बर्दिया । जिल्लामा अत्यधिक गर्मीका ३ पालिकाले ३ दिन विद्यालय बन्द गरिएका छन् ।
बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको सोमबार बसेको बैठकले ३ दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।
३ दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ । भोलि अर्थात् मंगलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ ।
बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको संख्या दिन प्रतिदिन बढिरहेका छन् ।
गर्मीका कारण ‘लू’ लागेका, पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा. पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरो पाकेर घाउ बन्ने र संक्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।