मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी कच्चापदार्थमा आधारित उद्योगहरूलाई विशेष ध्यान दिने बताएका छन् ।
प्रदेश योजना आयोग र त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगरले संयुक्त रूपमा सोमबार प्रदेशको दोस्रो आवधिक योजना तर्जुमाका लागि प्रदेशसभाका सदस्यहरूसँग सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै उनले जुट तथा धान लगायत कृषि उत्पादनको आयातलाई निरुत्साहित गरी उत्पादन वृद्धि गर्दै स्वदेशी कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखिने बताए ।
मुख्यमन्त्री कार्कीले योजनामा कृषि उत्पादनमा आत्मनिर्भर रहेको चिया कफी, दूधजन्य पदार्थ, अलैंची, फलफूल लगायत निर्यातमा विशेष सहुलित प्रदान गरिने धारणा राखे । उनले प्रदेशलाई समृद्धि हासिल गर्न पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरी उत्तर र दक्षिण क्षेत्रका २ छिमेकी राष्ट्रमा धार्मिक तथा हिमाली पर्यटन प्रचारप्रसार गरी आगमन वृद्धि गर्न विशेष पहल गरिने बताए ।
उनले राजनीतिक प्रणाली राम्रो भए पनि राजनीतिक अस्थिरताले मुलुकमा सोचेअनुसार विकास र उपलब्धि हुन नसकेको गुनासो गरे ।
प्रदेशका सभामुख अम्बरबहादुर विष्टले नागरिकको आर्थिक समृद्धि कायम गर्ने योजना ल्याउनुपर्ने सुझाव दिए । उनले विगतको योजनाहरूमा सुधार गरी पहाडबाट जनताको पलायन रोक्ने कार्यक्रम ल्याउन आग्रह गरे ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पहाडमा शिक्षा तथा स्वास्थ्यमा विशेष ध्यान दिई बसाइँसराइँ कम गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राई, उपसभामुख सृजना दनुवार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले कृषिमा प्रविधिकको प्रयोगमा ध्यान दिन र पहाडी क्षेत्रबाट बसाइँसराइ रोक्न विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी, प्रा.डा. प्रमोद झा, डा. भेषप्रसाद धमलाले जनतासँग विकासको प्रतिफल प्रत्यक्ष पुग्ने कृषि र पर्यटनतर्फ विशेष ध्यान दिनुपर्ने सुझाव दिए । सहप्राध्यापक डा. डिल्ली प्रसाईंले प्रथम आवधिक योजनाको समीक्षा र दोस्रो आवधिक योजनाको अवधारणापत्र प्रस्तुत गरेका थिए ।