काठमाडौं । सय किलो सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् । सो घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई आफ्नो मन्त्रालय बोलाएका हुन् ।
विशेष सुराकीको आधारमा राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक सय किलो बढी सुन बरामद गरेको थियो ।
सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द र एक जना नायब सुब्बालाई निलम्बन गरिएको छ ।
यसैगरी राजस्व अनुसन्धान विभागले सुनको भन्सार पासमा संलग्न देखिएका सबैलाई निलम्बन गर्ने तयारी समेत गरेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् ।
सुन ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेका ६ जना मध्ये हालसम्म ४ जनाको मात्र नाम सार्वजनिक भएको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङ रहेका छन् ।
विमानस्थलबाट जाँच पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेको अवस्थामा सिनामंगलबाट बरामद गरिएको थियो ।
हङकङबाट ल्याइएको उक्त सुनको विषयमा थप अनुसन्धान जारी रहेकाले आज धेरै कुराहरू खुल्ने बताइएको छ । विभिन्न उपकरणहरूभित्र राखेर सुन ल्याएको अवस्थामा छापा टोलीले उक्त सुन पक्राउ गरेको हो ।