काठमाडौं । १०० किलो सुन बरामद प्रकरण भन्सार विभागले छानबिन गर्न समिति गठन गरेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ठूलो परिमाणको सुन सिनामंगलबाट ट्याक्सीबाट बरामद भएको थियो ।
उक्त घटनाको सत्यतथ्य छानबिन गर्न विभागले छानबिन समिति बनाएको हो । विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक अधिकृत र नायब सुब्बालाई निलम्बन गरिसकिएको छ ।
भन्सार अधिकृत सन्तोष चन्द निलम्बित भए पनि नासुको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनीहरू सुनको भन्सार पासमा संलग्न रहेको फेला परेपछि निलम्बन गरिएको बताइएको छ ।
यसैबीच भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी रहेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा बुधबार साँझ विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजाने क्रममा विभागको टोलीले १०० किलो सुन बरामद गरेको थियो ।
छानबिन समितिले विमानस्थलको भन्सार जाँच पासमा संलग्न रहेकाहरूबाट छानबिन गर्ने बताइएको छ ।
हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक सुमा राखेर उक्त १०० केजी सुन ल्याइएको थियो ।
उक्त प्रकरणले विभागले हालसम्म संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ ।