नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा बुधबार यसवर्षकै सबैभन्दा बढी गर्मी महसूस गरिएको छ ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय नेपालगञ्जकी इन्चार्ज मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ रेकर्ड भएको जानकारी दिइन् । तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उनले बताइन् ।
‘केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न सकिँदैन,’ उनले भनिन् । जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ ।
गर्मी बढ्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।
वीरगञ्जबाट कामको सिलसिलामा नेपालगञ्ज आएका सरोज पटेलले वीरगञ्जभन्दा नेपालगञ्जमा धेरै गर्मी महसूस गरेको बताए । ‘ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु,’ उनले भने ।
अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्सा चालक प्रभावित भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा. संकेत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिए ।
उनले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताए । त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’का कारण आँखामा संक्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उनले बताए । ‘ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ,’ उनले भने ।
गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । ‘विद्युत् सहज नहुँदा झन् अप्ठ्यारो भएको छ,’ स्थानीय आरती गौतमले भने ।
नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले २०० बढी खम्बा ढलेपछि समस्या भएको बताए । हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ ।