काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले मुलुकको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् ।
राष्ट्रिय महिला दिवसको अवसरमा नेकपा एमालेद्वारा बुधबार आयोजित राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै उनले राष्ट्रको नेतृत्व लिन महिला अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
‘नेतृत्वमा रहेका महिलाले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनु पर्दछ,’ उनले भनिन्, ‘संविधानले जनताका आधारभूत अधिकारहरूलाई मौलिक हकको रूपमा सुनिश्चित गरिसकेको छ । यसको व्यावहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ ।’
उनले महिलाको अधिकार संविधानमा संस्थागत भए पनि अझै समाजमा विद्यमान पितृसत्तात्मक सोच, गरीबी, अशिक्षा, अन्धविश्वास र कतिपय कुप्रथाका कारण संविधान र कानूनद्वारा प्रदत्त अधिकारहरूको व्यावहारिक कार्यान्वयनमा चुनौती बाँकी रहेको बताइन् । महिलाका मुद्दालाई केन्द्रविन्दुमा राखेर छलफल र अन्तक्रिया गर्नुपर्ने उनको भनाइ थियो ।
‘राज्यका तर्फबाट गरिएका संवैधानिक, नीतिगत, कानूनी तथा संरचनागत व्यवस्थाका कारण राज्यका महत्त्वपूर्ण निकाय तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमूलक संरचनामा एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ,’ उनले भनिन्, ‘तथापि समाजका आधा हिस्सा ओगटेका महिलाका लागि एकतिहाइ सहभागिता पूर्ण उपलब्धि भने हैन । तसर्थ प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि हामीले प्रयास जारी राख्नु पर्दछ ।’