काठमाडौं । संघीय संसद अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, महिला तथा सामाजिक मामिला समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
बिहान साढे १० बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा १६ औँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि नेपाल सरकारको रणनीति तयार तथा दिगो विकास लक्ष्य कार्यान्वयनको भीएनआर प्रतिवेदन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे सिंहदरबारमा बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग विविध विषयमा छलफल हुने बताइएको छ । महिला तथा समाजिक मामिला समितिको दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।
यस्तै, दिउँसो १ बजे सिंहदरबारमा बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ ।