काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुल्क समायोजन गर्ने निर्णय स्थगित गरेको छ । सीटीईभीटीले यस वर्षको डिप्लोमा तथा प्रमाणपत्र तहको शुल्क समायोजन गर्ने निर्णयसँगै चौतर्फी विरोध सुरू भएपछि परिषद्ले सो निर्णय गरेको हो ।
उक्त समायोजनसम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई स्थगित गरिएको परिषद्ले जनाएको छ ।
असार २९ गते सीटीईभीटीले शुल्क समायोजन गर्ने निर्णय गरेको थियो । परिषद्ले नर्सिङ, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको शुल्क बढाएको थियो ।
डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्ष १ लाख ६९ हजार ४६४, दोस्रो वर्षका लागि १ लाख २७ हजार ९८ र तृतीय वर्षका लागि १ लाख २७ हजार ९८ रूपैयाँ शुल्क निर्धारण गरेको थियो ।
त्यस्तै प्रमाणपत्र तह नर्सिङ्गतर्फ प्रथम वर्ष २ लाख ४९ हजार ६९०, द्वितीय वर्ष र १ लाख ८७ हजार २७० र तृतीय वर्षमा १ लाख ८७ हजार २७० रूपैयाँ शुल्क निधारण गरेको थियो ।
प्रमाणपत्र तह सामान्य चिकित्सातर्फ प्रथम वर्ष २ लाख ९ हजार ५३०, द्वितीय वर्ष १ लाख ५७ हजार १४५ र तृतीय वर्षका लागि १ लाख ५७ हजार १४५ शुल्क निर्धारण गरेको थियो ।
सीटीईभीटबाट सम्बन्धन तथा स्वीकृति प्राप्त गरी सञ्चालित शिक्षण संस्थामा शैक्षिक सत्र २०७१÷७२ मा तोकिएको शुल्कअनुसार पठनपाठन गराउँदै आएका छन् ।