काठमाडौं । नेपालगञ्जमा बिहीबार अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए । उनका अनुसार बिहीबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।
यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहीबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।
काठमाडौं र पोखरामा समेत तापक्रम बढिरहेको छ । बिहीबार पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ ।
हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।