काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा ४ हजार ७७० जनाको आवेदन परेको छ ।
कामपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको थियो ।
‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत–सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ,’ उनले भने ।
कामपाले श्रम बैंकमा आएकामध्येबाट अहिले ६०० जना छनोट गरी कामपामा खटाएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेका कामपाले जनाएको छ ।
‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो,’ उनले भने, ‘कामपाले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार सम्पर्क नम्बर र श्रमिकको ठेगाना लगायत विवरण उल्लेख गरिएको हुन्छ ।’
सोही विवरणका आधारमा आवश्यकता पर्ने जो सुकैले श्रमिकलाई काममा लगाउन र उचित पारिश्रमिक दिन सक्नेछन् । चालू आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र लगायत विवरण भर्नुपर्नेछ ।
आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ, काठमाडौंमा बसोबास भएको हुनुपर्नेछ ।
कार्यक्रमले आवश्यक श्रमशक्तिको उपलब्धता सहज हुनेछ । उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था छ ।
२जी भट्ट जी बालेनले सिंगापुर भ्रमण स्थगित गरेका छन् । बजेट ल्याउनु पर्ने बेला भएकाले नजाने निर्णय गरेको स्वकिय सचिव भुपदेव शाहले जानकारी