मुग्लिन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा रैथाने मौरी संरक्षणका लागि स्थानीय किसानलाई मौरीको आधुनिक घार वितरण गरिएको छ ।
काठको मादले घारमा मौरीपालन गर्दै आएका किसानलाई आधुनिक घार वितरण गरिएको हो ।
गाउँपालिका र सपना भिलेज सोसल इम्प्याक्टले शुक्रबार संयुक्त रूपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरेको छ । इच्छाकामना–२ घुर्केसका २० र सोही वडाकै काउलेका २० घरधुरीलाई पालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा मौरी घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानले घरको भित्ता, रूखको धोद्रो, काठको मादले घारमा मौरीपालन गर्दै आएका छन् । आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउने र मौरी संरक्षण गर्ने उद्देश्यले मौरी घार उपलब्ध गराएको उनले बताए । घारसँगै मौरीपालनका लागि आवश्यक औजार समेत प्रदान गरिएको छ ।
सुपर घारसहित टोपी, पञ्जा, धुँवादानी, आधार चाका प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।
वडाको पर्यटकीयस्थल मायाटारको नजिक रहेका बस्तीहरूमा पर्यापर्यटनको विकासका लागि रैथाने मौरी संरक्षणको काम सुरु गरिएको छ । ‘मौरीसँगै मौरीको स्रोत संरक्षण गरेर रैथाने मौरी जोगाउनुपर्ने देखियो,’ अध्यक्ष गिरीले भने, ‘व्यावसायिक मौरीपालनका लागि मात्र होइन रैथाने मौरी जोगाउन पनि घार दिएका हौं ।’
उनका अनुसार मायाटार र आसपासका क्षेत्रमा चरीचरनका लागि चिउरी, लालीगुराँस, टाँकी, पड्के, रुदिलो, किम्बु, चिलाउने जस्ता वनस्पति मौरीपालनको स्रोतको रूपमा रहेको छ । विकट बस्तीमा उत्पादन भएको चिउरीको महको बजार राम्रो छ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले रैथाने मौरीको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, पर्यापर्यटनको विकासका लागि मौरीको घार प्रदान गरिएको बताए । इच्छाकामनाका गाउँहरू पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएका र पाहुनाहरूले स्थानीय रैथाने मौरीको मह मन पराउने गरेको उनले बताए ।
घार वितरणपूर्व सपना भिलेजले मौरीपालन गरिरहेका किसानलाई २ दिने तालिम दिएको थियो । सपना भिलेजले कालिका नगरपालिकाको सिद्धिमा पनि २० घरधुरीलाई ४०० घार मौरी वितरण गरेको जनाएको छ । ४० लाख लगानी गरी नगरपालिकासँगको सहकार्यमा सपना भिलेज सोसल इम्प्याक्टले चेपाङहरूलाई घार वितरण गरिएको छ ।