काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ३ प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् ।
शुक्रबार राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्यप्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिए ।
उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने संख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको संख्याबारे पनि जानकारी लिए ।
गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन ३ वटै वृत्तका प्रमुखलाई निर्देशन दिए । नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना ५ दिनभित्र पेश गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिएका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन, प्रहरी संगठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थालेका छन् ।