काठमाडौं । भारतमा आज लोकसभा निर्वाचनका लागि सातौं तथा अन्तिम चरणको मतदान हुँदैछ ।
निर्वाचनका लागि ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ ।
पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बंगालका ९ सिट, बिहारका ८, उडिसाका ६, हिमाञ्चल प्रदेशका सबै ४ सिट, झारखण्डका ३ सिट र चण्डीगढको १ सिटमा आज मतदान हुँदैछ ।
लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन् । यो निर्वाचनमा कूल ९०४ जनाले उम्मेदवारी दिएका छन् ।
७ चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रमहरू आयोजना गरे । यसमा र्यालीहरू र रोड शोहरू समावेश थिए ।
आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुगेका थिए । ध्यान आजसम्म जारी रहनेछ । ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्ने बताइएको छ ।
लोकसभा चुनावको अघिल्लो ६ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात मंगलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।