तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
तनहुँ जिल्ला भलिबल संघले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा शनिबार उनले नेपालकै मध्यभागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन योजनाबद्ध ढंगले लाग्नुपर्ने बताए ।
डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताए । ‘खेलकुदमा नेपालले धेरै प्रगति गरेको छ । अहिलेको बजेटमा पनि खेलकुदतर्फको रकम केही वृद्धि भएको छ,’ उनले भने, ‘खेलकुदको विकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्छ । यहाँ खेलकुद विकासका लागि के गर्न सकिन्छ त्यसबारेमा सम्बन्धित पक्षसँग पहल गर्नेछौं ।’
नेपालमा खेलकुद कूटनीतिलाई अगाडि बढाउनुपर्ने अवस्था समेत औंल्याए । नेपालमा केही भएन भन्ने युवामाझ नैराश्य मात्रै रहेकाले त्यस्तो भाष्यलाई चिर्न अब कुराभन्दा काममा जोड दिनुपर्ने उनको भनाइ थियो ।
शनिबार घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ । दुवै टीमले १–१ सेट जितेपछि तेस्रो सेट खेल्दै गर्दा खेल स्थगित भएको हो ।
भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो । शुक्लागण्डकीले भिमादलाई सोझो सेटमा पराजित गरेको थियो । ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनल यात्रा तय गरेको थियो । घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो । तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल भएकामा भिमाद तेस्रो भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख १ हजार १११, द्वितीयलाई ५१ हजार १०० र तेस्रो हुनेलाई २५ हजार १११ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका महाससचिव अशोक गिरीले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिकाबाहेक ९ वटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा ऋषिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र देवघाट गाउँपालिकाको सहभागिता जनाएका छन् ।