काठमाडौं । नेपालगञ्जमा जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव २ डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव १ डिग्री मापन भएको तापक्रम त्यसको २ दिनपछि शनिबार देशभरकै तापक्रम घटेको छ ।
ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले शनिबार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम शनिबार ४१ दशमलव ४ डिग्रीमा झरेको छ । धनगढीमा ४० दशमलव ७ डिग्री रहेको छ ।
सोही दिन पोखरामा ३४ र काठमाडौंमा ४३ दशमलव ४ डिग्री तापक्रम मापन भएकोमा शनिबार झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमलव ५ र काठमाडौंमा ३२ डिग्री रहेको छ । जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री थियो । शनिबार त्यहाँ ३४ मा झरेको तथा दाङको घोराहीमा ४० दशमलव २ डिग्री रहेकामा शनिबार ३५ दशमलव २ डिग्रीमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरणअनुसार शनिबार दीपायलमा ३९ दशमलव ४, वीरेन्द्रनगरमा ३८ दशमलव १, डडेल्धुरामा ३१ दशमलव ४, जुम्लामा २८ दशमलव ९, भैरहवामा ३७ दशमलव २, सिमरामा ३६ दशमलव ६, ओखलढुंगामा २८, ताप्लेजुङमा २६ दशमलव ८ र धनकुटामा ३० दशमलव ५ डिग्री अधिकतम तापक्रम मापन भएको छ ।
जोमसोममा २२ दशमलव ५, धरानमा ३३ दशमलव ६, लुम्लेमा २५ दशमलव ५, जनकपुरमा ३५ दशमलव ८ र दोलखाको जिरीमा २४ दशमलव ४ डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ ।
शनिबार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।
हाल कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।