काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलाे अवैध सुन फेला परेको प्रकरणमा पक्राउ परेकाहरूको म्याद थप भएकाे छ ।
उच्च अदालतले, पाटनले राजश्व अनुसन्धान विभागलाई १० दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको थियो ।
अहिलेसम्म विभागले एक चिनियाँसहित सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज सात जनाको म्याद थप भएको हो ।
आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
अवैध रूपमा सुन तस्करी भइरहेको छ भन्ने पूर्वसूचनाको आधारमा राजस्व अनुसन्धान विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो । जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो ।
विभागका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो ।
सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरू अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो ।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।