काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन् ।
गणतन्त्र दिवस २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्वीर प्रदर्शनीको सोमबार अवलोकनपछि प्रतिक्रिया दिँदै पूर्व राष्ट्रपति डा. यादवले संसारमा भएका शासन प्रणालीमध्ये संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए ।
जनताको आन्दोलनको उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रूपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्णरूपमा काम गर्नुपर्नेमा जोड दिए ।
गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्व राष्ट्रपति डा. यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताए ।
उनले भने, ‘गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको छ । तर पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्नेछ । जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्छ ।’
राजनीतिक व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले द्वन्द्व भएको मुलुकमा आर्थिक व्यवस्था राम्रो भएन भने पुनरावृत्ति हुनसक्ने पाटोमा ध्यान पुर्याउनुपर्ने बताए ।
जुन देशमा शिक्षाको विकास हुन्छ त्यो देश अरु क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्ने उल्लेख गर्दै पूर्व राष्ट्रपति डा. यादवले राजनीतिक, आर्थिक र सामाजिक विकासले लोकतन्त्रको गतिलाई निर्धारण गर्ने बताए ।
उनले भने, ‘विगतमा द्वन्द्व भयो, दलको सहमतिमा संविधान बनाउने काम भयो, संविधान जारी गर्ने क्रममा केही असन्तुष्टि व्यक्त भए, पछि आएर सबैले संविधान मान्दै आफ्ना कुरा उठाइरहेका छन् । यो नै लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हो ।’