काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार ८ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजापट्टिमा करीब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावित रूपमा क्षतिग्रस्त भएका छन् ।
राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी यूएनओएसएटीले सामाजिक सञ्जाल एक्समा १ लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ ।
उक्त अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्वीरमा आधारित छ । यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठीक १ हप्तापछि अक्टोबर १५ मा लिइएको तस्वीरसँग गरिएको छ । हमासले गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो ।
पछिल्लो स्याटेलाइट तस्वीरको तुलना नोभेम्बरमा धेरै मितिमा लिइएका तस्वीरहरूसँग पनि गरिएको थियो । ‘स्याटेलाइट इमेजरी विश्लेषणअनुसार यूएनओएसएटीले ३६ हजार ५९१ ध्वस्त संरचनाहरूको पहिचान गरेको छ,’ एजेन्सीले विज्ञप्तिमा भनेको छ ।
यसका साथै १६ हजार ५१३ गम्भीर रूपमा ध्वस्त संरचना, ४७ हजार ३६८ सामान्य रूपमा क्षतिग्रस्त संरचना र कूल १ लाख ३७ हजार २९७ संरचनामा ३६ हजार ८२५ सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो गाजापट्टिमा कूल संरचनाको करीब ५५ प्रतिशत र कूल १ लाख ३५ हजार १४२ अनुमानित क्षतिग्रस्त आवास इकाईअनुरूप हो ।’
केन्द्रमा दिर अल–बलाह र उत्तरमा गाजाको गभर्नरेटमा अप्रिल १ देखि मे ३ को बीचमा धेरै नोक्सान भएको स्याटेलाइट तस्वीरबाट थाहा भएको यूएनओएसएटीले भनेको छ ।
उक्त मितिमा स्याटेलाइट तस्वीरहरूको तुलना गर्दा दिर अल–बलाहमा थप २ हजार ६१३ संरचना क्षतिग्रस्त भएको र मात्र १ महिनामा गाजा गभर्नरेटमा थप २ हजार ३६८ संरचना ध्वस्त भएको थियो ।
एजेन्सीले निष्कर्ष प्रारम्भिक विश्लेषणको भाग भएको र यसलाई अझै पनि फिल्डमा मान्य हुन बाँकी रहेको जनाएको छ ।