कटारी । उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा चोरीशिकारी बढेको छ ।
कटारी नगरपालिका १, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीशिकारी बढेको हो ।
शिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेसजस्ता पशुपंक्षीहरू शिकार गर्ने गरेको कटारी–३ का स्थानीय डबबहादुर परियारले जानकारी दिए । ‘२० नाल जति भरुवा बन्दुक लिएर शिकारीहरू आउने गर्छन्,’ उनले भने, ‘पानी पर्न थालेपछि जन्तुहरूको पाइला हेरेर शिकार गर्न सजिलो हुने रहेछ त्यसैले अहिले शिकारीहरू जंगलभरि सक्रिय छन् ।’
चुरे वनमा डढेलो लगाउने पनि शिकारी रहेको स्थानीयको अनुमान छ । आगो लगाएपछि शिकार खेल्न सजिलो हुने स्थानीयको भनाइ छ । दैनिक वनमा बन्दुक पड्केको आवाज सुनिने र शिकारी भेटिने गरेको घाँसे गोठालाहरू बताउँछन् ।
कटारी नगरपालिकाको चुरे वन क्षेत्रभित्र पर्ने वडा नम्बर १ खसीबास, एक्लेसल्ला र सिरहाको गोलबजार नगरपालिका अन्तर्गतको चुरे किनारका बस्तीबाट शिकारी आउने गरेको स्थानीय बताउँछन् । ‘सबै जना बन्दुक लिएर कटारी नजिकसम्म शिकार खेल्न आउँछन्,’ कटारी–३ च्याँगाका लवकुश माझीले भने, ‘गाउँ छेउछाउमा आउने बँदेल, दुम्सी, खरायो, मृग, नीलगाई शिकारीले मासिसके ।’
शिकारीले वन क्षेत्रमा तर्साएपछि वन्यजन्तु गाउँ पस्न थालेको कटारी–५ शलेस सामुदायिक वन उपभोक्ता समूहका पूर्व सचिव डिकबहादुर श्रेष्ठले बताए । ‘पहिला चुरेमा बस्ने वन्यजन्तु गाउँमा देखिन थालेका छन्,’ उनले भने, ‘जंगली जनावर गाउँ पसेपछि अन्नबालीमा क्षति पुर्याउन थालेका छन् ।’
अहिले चोरीशिकारी सक्रिय रहने मौसम रहेकाले दैनिक वन गस्ती खटाएको डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले बताए । ‘दैनिक गस्ती खटाएका छौं, प्रहरीसँग पनि समन्वय गरिरहेका छौं, अनुमति विनाका भरुवा बन्दुक नियन्त्रणमा लिन र बुझाउन अनुरोध गरेका छौं,’ अधिकृत साहले भने, ‘वन्यजन्तुअनुसार शिकारीलाई सजायको व्यवस्था कानुनमा छ, वनका उपभोक्ता समूहहरूलाई पनि शिकारी पक्राउमा सहयोग गर्ने अनुरोध गरेका छौं ।’