काठमाडौं । ८ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ ।
काठमाडौं महानगरपालिकाले असार २८ गते विहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह ०३ः३० बजेसम्ममा यो संख्या देखिएको हो ।
यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ ।
प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ ।
कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको छ ।
शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्छन्, ‘हामी साउन महिनाको दोस्रो हप्ताको अन्त्यसम्ममा कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ । विवरण सार्वजनिक गर्नेछौं ।’
विद्यालयहरूबाट चारित्रिक प्रमाण पत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाण पत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको कोइरालाको भनाइ छ ।
विद्यार्थीहरूले साउन १२ गते राति ११ बजेर ५९ मिनेटसम्म आवेदन दर्ता गराउन सक्नेछन् ।
परीक्षाको नतिजा प्रकाशनसँगै अनलाइन म्याचिङको मिति निश्चित गरिनेछ । योग्यता क्रमअनुसार अनलाइन म्याचिङमार्फत् परीक्षार्थी आफैंको रोजाइ र प्राथमिकताअनुसार उम्मेदवारको योग्यता क्रममा विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन ।