लुम्बिनी । लुम्बिनी प्रदेश सरकारकोे आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ ।
प्रदेश सभाको बैठकमा पेश भएको कार्यक्रमलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ पेश गर्दा सत्तापक्षका प्रदेशसभा सदस्यको बहुमतमा नीति तथा कार्यक्रम पारित भएको छ ।
यसअघि प्रदेश सभाको मंगलबारको बैठकमा सदस्यले छलफलका क्रममा उठाएका विषयमा मुख्यमन्त्री जोखबहादुर महराले जवाफ दिएका थिए । उनले नीति तथा कार्यक्रममा सबै विषय समेट्न नसकिएको र छुटेका महत्त्वपूर्ण विषयलाई बजेटमार्फत सम्बोधन गर्न सकिने बताए ।
‘प्राप्त सुझावलाई समावेश गर्दै छुटेका महत्त्वपूर्ण विषय बजेटमा पनि सम्बोधन हुनेछन्,’ उनले भने, ‘यो नीति कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजाने गरी नै हामीले प्रस्तुत गरेका छौं ।’
छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका बसिउद्धिन खाले पर्यटनमा प्राथमिकता दिए पनि लुम्बिनीका केही उत्कृष्ट पर्यटकीय क्षेत्रलाई गन्तव्य गराउने गरी नीति कार्यक्रममा समावेश हुन नसकेको बताए । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा सुरू भएका केही गौरवका आयोजनालाई पनि नीति कार्यक्रमले छुन नसकेको उनको भनाइ थियो ।
‘सरकारले योजना आयोग र विभिन्न मन्त्रालयले सिफारिस गरेका अधिकांश योजनासमेत आर्थिक मामिला तथा योजना मन्त्रालयमा गएर थन्किएका छन्, यस्तो नीतिले प्रदेशको विकास हुन सक्दैन,’ उनले भने ।