ललितपुर । ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा २ वटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन् ।
महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ ।
ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन् ।
आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माण कार्य जारी रहेका जानकारी दिए ।
उनका अनुसार निर्माण हुँदै गरेका ती आकाशे पुल अपाङ्गतामैत्री समेत हुने छन् । ओझाले भने, ‘महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकाशे पुल निर्माण हुन लागिएको हो । यी दुवै पुल ह्विलचियर समेत गुडाउन मिल्ने गरी अपाङ्गतामैत्री हुनेछन् ।’
पैदल यात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विक्रम संवत् २०७५ सालमा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो । सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नपर्नेछ ।
महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदल यात्रुलाई निकै सहज हुने बताए । ‘यहाँ दैनिक सयौं मान्छे आवतजावत गर्छन् तर आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम छ । आकाशे पुल निर्माणपछि धेरै सहज हुनेछ,’ उनले भने ।