काठमाडौं । सय किलो सुन बरामद प्रकरणले थप एक जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठसँगै पक्राउ पर्नेको संख्या १० पुगेको विभागले जनाएको छ ।
यसअघि भन्सार कार्यालय पुगेका कम्पनीका सञ्चालक पुष्कर भट्टलाई विभागको टोलीले दिउँसो नै पक्राउ गरिसकेको छ भने एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पनि कोटेश्वर बाट पक्राउ परिसकेका छन् ।
बिहीबार दिउँसो भाग्न लागेका चिनियाँ नागरिक लिन जेछियाङलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागको जिम्मा लगाएपछि हालसम्म पक्राउ पर्नेको संख्या १० पुगेको हो ।
सोही प्रकरणमा यसअघि ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परिसकेका छन् ।
पक्राउ परेका उनीहरूलाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति समेत दिइसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सुन बरामद भएको थियो । उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ।
बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जाँच पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेको अवस्थामा सिनामंगलबाट बरामद गरिएको थियो ।
हङकङबाट ल्याइएको उक्त सुन विभिन्न उपकरणहरूभित्र राखेर ल्याएको अवस्थामा छापा टोलीले पक्राउ गरेको हो । स्कुटरको पार्ट घोषणा गरेर सुनका ल्याएको थियो ।
उक्त सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । चार दिन अगाडि प्यासिफिक एयरबाट यो सबै सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।