राष्ट्रिय किताब खाना (निजामती)को भवनमा अचेल अबेरसम्म भेटिन्छन्- महानिर्देशक डा. टोकराज पाण्डे । साउनमा कर्मचारीहरूको सम्पत्ति विवरण बुझाउनुपर्ने भएकाले आफ्नो कार्यकक्षमा अबेरसम्म भेटिएका हुन् उनी । आफ्नो कार्यकालमा जसरी पनि राष्ट्रिय किताब खानालाई उत्कृष्ट बनाउने सोचमा लागेका पाण्डे निजामती क्षेत्रमा प्रवेश गरेको १३ वर्ष भयो।
हाल सह-सचिवको भूमिका निर्वाह गरिरहेका पाण्डे २०६८ सालमा शान्ति तथा पुनर्स्थापना मन्त्रालयअन्तर्गत राहत तथा पुन:स्थापना निकायमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए । शाखा अधिकृतबाट निजामती प्रवेश गरेका डाक्टर पाण्डेको संघर्ष यस्तो छ:
परिवार नै निजामती क्षेत्रमा
निजामती सेवाका लागि अत्यन्तै उर्वर जिल्ला हो- स्याङ्जा । देशका अधिकांश मन्त्रालयमा स्याङ्जा जिल्लाका कोही न कोही कर्मचारी भेटिन्छन् । स्याङ्जा बिर्घा गाउँपालिकामा स्थायी घर भएका डा. पाण्डेका परिवारमा कोही न कोही निजामती सेवामा कार्यरत थिए । उनलाई पनि त्यसको रस पर्यो ।
अग्रजले रोजेको बाटो नै सानाले हिँड्ने हो भने झैं डा. पाण्डेले पनि निर्विकल्प रूपमा निजामती सेवा नै रोजे । करिअर बनाउने होडमा लागेपछि उनले नियमित अध्ययन गर्न थाले । उनको अनुभवअनुसार उनी अहिलेसम्मको लिखित परीक्षामा फेल भएका छैनन् तर अन्तरवार्तामा भने फेल भएका छन् । भन्छन्, ‘मान्छेको जीवनमा पास भए हौसला बढ्दो रहेछ । फेल भए सिकाइ हुँदो रहेछ । त्यसैले दुवै मेरा लागि प्रिय रहे ।’
जन-प्रशासन र इतिहासमा पिएचडी गरेका डा. पाण्डेले निजामती सेवामा आउनु अगाडि केही समय पढाउने काम पनि गरे । शिक्षा क्षेत्रमा लागेर आफूलाई घाटा नभएको बताउने उनी करिब चार वर्षजस्तो सञ्चारमाध्यम क्षेत्रमा पनि काम गरे । पत्रकारिताको अनुभव बटुले । समाज बुझ्न सञ्चार जगतले सघाँउदोरहेछ भन्ने बुझाइ सुनाउँछन् उनी ।
तर डा. पाण्डेको मन परिवारले हिँडेकै बाटो लाग्यो । धेरै कम सन्तान हुन्छन्, जो अभिभावकले हिँडेको बाटो हिँड्न मान्छन् । त्यसैले उनले पनि परिवारकै बाटो हिँडे । निजामती सेवामै प्रवेश गर्ने सोंचले लोभिएपछि उनले तयारी गरे । ‘मेरा भूगोल, परिवेश, पारिवारिक वातावरणले मलाई निजामती सेवातर्फ नै डोर्याए’, उनले भने ।
निजामतीको रस
शान्ति मन्त्रालय अन्तर्गतको राहत तथा पुन:स्थापना निकायमा शाखा अधिकृतका रूपमा २०६८ सालमा प्रवेश गरेसँगै डा.पाण्डेलाई निजामतीको रस बस्यो । शाखा अधिकृतको रूपमा काम गर्ने क्रममा उनले दुईवटा पदका लागि आवेदन पनि दिएका थिए । उप-सचिव र सह-सचिव । साथै शाखा अधिकृतमा काम गर्ने क्रममा पिएचडीका लागि पनि तयारी गर्दै थिए । तीन वर्षमा उनले पिएचडी पनि पास गरे ।
‘मैले बिदा नलिएरै ३ वर्षमा आफ्नो जन-प्रशासनको थेसिस पूरा गरेर पिएचडी गरें’, डा.पाण्डेले भने ।
निजामती सेवामा पाँच वर्ष बितेसँगै सह-सचिवमा पनि आवेदन दिएका थिए उनले । तर फेल भए । यता उप-सचिवमा पनि फाराम भरेका थिए । त्यसको पनि तयारी सँगसँगै अगाडि बढाएका थिए । उप-सचिवको जाँच दिएर पास भएपछि उनी प्रशासन सेवामा सिफारिस भए ।
डा.पाण्डे भन्छन्, ‘जीवनमा लोकसेवाका लागि धेरै परीक्षा दिएँ तर लिखित परीक्षामा कहिले फेल भइनँ तर अन्तरवार्तामा भने धेरैपटक फेल भएको अनुभव छ ।’
कलैया उपमहानगर पालिका, काठमाडौं महानगरपालिकामा सहकारी विभाग हुँदै डा.पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार मन्त्रालयजस्ता ठूला मन्त्रालयहरूमा काम गरे । उनी भन्छन्, ‘निजामती सेवामार्फत् राष्ट्र सेवा गर्न पाउनु भनेको अभूतपूर्व अवसर हो ।’
लोकसेवाको बुझाइ
निजामती सेवा र सुशासनका बारेमा पत्रपत्रिकामा पनि लेख्दै आएका छन् डा.पाण्डे । निजामती सेवामा आइसकेपछि अन्य क्षेत्रमा भन्दा सेवामा फराकिलोपन पाएको बताउँछन् उनी ।
लामो समयदेखि निजामती सेवामा रहेर कार्य सम्पादन गर्दै आएका डा.पाण्डेका अनुसार इमान्दारीपूर्वक काम गर्दा धेरै नागरिकलाई राम्रो सेवा दिएर, नागरिकहरूबाट आर्शिवाद लिएर तिनका मुहारमा खुसी देख्नेगरी काम गर्नू, सार्वजनिक प्रशासनप्रति नागरिकको सकारात्मक दृष्टिकोण विकास गर्न सक्नू नै सन्तुष्टि हो ।’
कर्मचारीप्रति जनताको दृष्टिकोण खासै सकारात्मक पाइँदैन । अझ पछिल्लो समय उच्च पदका बसेका कर्मचारीबाटै भ्रष्टाचार हुने भएकाले जनताको वितृष्णा बढेको छ ।
राजनीति, पत्रकारिता, कर्मचारीतन्त्र र नागरिक समाजलाई केही न केही आरोप लगाउने प्रथाचाहिं समाजमा देखिएको बताउँछन् डा.पाण्डे । भन्छन्, ‘आफ्नो मुलुकभित्र बसेर नागरिकको सेवा गर्न पाउनु भनेको ज्यादै प्रभावकारी अवसरकाे रूपमा हामीले लिन्छौं । केही अपवादलाई हेर्ने हो भने जनताको काम गर्न मरेजत्ति मान्छौं ।’
लोकसेवा आयोग भनेको एउटा संस्था मात्र होइन, यो हाम्रा लागि एउटा पवित्र मन्दिर हो । यस्तो ठाउँमा पुगेर कसैले पनि धर्म नछोडिदियोस् भन्ने लाग्छ डा.पाण्डेलाई । उनकाे विचारमा जागिर गर्ने क्रममा पदप्रतिष्ठा मात्र सबै कुरा होइन ।
भन्छन्, ‘जागिरको अघि जीवन थियो र पछि पनि जीवन रहन्छ भन्ने सोचेर काम गर्यौं भने कहिले पनि अनियमिता हुँदैन, निष्पक्षता हुन्छ ।’
डा.पाण्डे नेपालका केही अब्बल प्रशासकहरू सरदार यदुनाथ खनालको त्याग, पराक्रम र दक्षताको कारणले आज पनि स्मरण गर्ने गरेको बताउँछन् । भन्छन्, ‘जागिर पछि पनि जीवन छ भन्ने कुराको बोध गर्ने कर्मचारीले आफ्नो धर्म छोड्दैनन् । कहिले जीवनमा निराशा आउँदैन, प्रभावकारी सेवा प्रवाह गर्न सकिन्छ ।’
लोक सेवाको तयारी
सह-सचिव डा.पाण्डे लोकसेवा आयोगका तयारीका बारेमा पनि टिप्स दिइरहन्छन् । कस्तो प्रशासन चुस्त र दुरुस्त हुन्छ भन्नेबारे आफ्नो बुझाइ सार्वजनिक गर्दै आएका उनी भन्छन्, ‘अर्को कुरा भनेको विभिन्न समुदाय, भू-भागमा गएर फरक-फरक व्यक्तिसँग घुलमिल भएर सेवा प्रदान गर्न पाइन्छ ।’
लोक सेवा आयोगको सौन्दर्यलाई डा.पाण्डे देशको माटोसँग जोड्छन् । भन्छन्, ‘लोक सेवा आयोगको सौन्दर्य भनेको आफ्नै माटोमा बसेर लामो अवधिसम्म सेवा गर्न पाउनु हो ।'
सह-सचिवको रूपमा डा.पाण्डेले पर्यटन मन्त्रालय, यातायात व्यवस्था विभागको महानिर्देशक र सत्य निरूपण तथा मेलमिलाप आयोगमा केही समय त्यहाँ काम गरे र हाल राष्ट्रिय किताबखानाको (निजामती) महानिर्देशकको भूमिकामा छन् ।
लोक सेवा आयोगप्रतिको बुझाइ पनि डा.पाण्डेकाे भिन्न छ । उनका अनुसार लोक सेवा आयोगले निष्पक्ष ढंगले सरकारी सेवाको लागि कर्मचारीहरूको छनोट गर्दछ । लोकसेवा आयोगले कायम गरेको निष्पक्षतालाई आगामी दिनमा पनि जोगाउन अत्यन्तै चुनौतीपूर्ण र आवश्यक चिज रहेको बताउँछन् ।
लोकसेवाको लागि उनले धेरै पढ्ने अनि रटान लगाउने गरेनन् । आफूले कामको अनुभवले नै सबै परीक्षाहरू पास गरेको बताउँछन् डा.पाण्डे । भन्छन्, ‘तपाईंसँग वाकपटुता, अभिव्यक्ति शैली र विषयवस्तुको ज्ञान र प्रस्तुति सीप छ भने तेस्रो चरण अथवा अन्तर्वार्तामा सफल भइन्छ । त्यसैले आफूलाई हरेक चरणको लागि योग्य सावित गर्दै अगाडि बढ्न सकिन्छ ।’
लोकसेवा पास गर्नका लागि निर्धारण गरिएको समय, ढाँचामा मागेका सबै कुराहरू लेख्न सक्नुपर्छ । एकपटक लेखेको वाक्यांशहरू अर्कोपटक दोहोरिनु हुँदैन ।
डा.पाण्डेका अनुसार अहिले बजारमा ढाँचा आधारित लेखनले अत्यन्तै लोकप्रियता पाएको छ ।
भन्छन्, 'पछिल्लो समय फर्म्याटमा लेख्ने मानिसहरू धेरै पास भएको अनुभव हामीले सुन्नमा पाएको छौं ।’
फर्म्याटअनुसार मागेका कुराहरूको छोटो मिठो परिभाषाबाट सुरु गर्नुपर्ने बताउँछन् डा.पाण्डे ।
निजामती सेवामा आउन इच्छुक हुने व्यक्तिले लेख्ने बेलामा काल्पनिक, परिकाल्पनिकभन्दा पनि नीति कानुनमा भएको कुराहरू लेख्दा मूल्यमा आधारित रहेर लेख्न सके राम्रो हुने बताउँछन् डा.पाण्डे । कानुनमा भएको कुराहरूलाई उल्लेख गर्दा बुद्धिमतापूर्ण तरिकाले लेख्नुपर्छ ।
केही प्राविधिक कुरामा ध्यान दिन सकियो भने लोकसेवा आयोग पास गर्न फलामाको चिउरा चपाउनु पर्दैन भन्ने बुझाइ छ उनको । एक समयको तयारी काफी हुन्छ । भन्छन्, ‘अहिले लोकसेवा आयोग पास गरेका वा जुनसुकै प्रतिस्पर्धात्मक परीक्षा पास गरेका मानिसरू सबै साधारण मानिस नै हुन् । मेहेनतमा भर पर्ने त हो ।’