काठमाडौं । सरकारले तोकेको धानको समर्थन मूल्य नपाउँदा किसान मारमा परेका छन् । बारा जिल्लामा तोकिएको धानको समर्थन मूल्य नपाउँदा खरिदकर्ता र किसानहरु दुविधामा परेका छन् । जिल्लका धान खरिदकर्ताका अनुसार सरकारले सहकारी र ब्यापारी धान खरिदकर्तालाई अनुदान नदिएसम्म तोकिएको समर्थन मूल्यमा धान नकिन्ने भएका छन् ।
हालैमात्र सरकारले मोटा प्रजातिका धानहरु, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ रूपैयाँ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा ३ सय ३० रूपैयाँले बढी हो ।
स्थानीय बजारमा मोटा प्रजातिकाको धानको मूल्य २८ सयदेखि २९ सय प्रतिक्विन्टल रहेको साना किसान कृषि सहकारी संघ बाराले जनाएको छ ।
यस्तै मध्यम प्रजातिका धानहरुमा सोना मनसुली, साबित्री लगायत धानको खरिद मूल्य ३ हजार ३ सय ६२ रूपैया प्रतिक्विन्टल तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २ सय ३४ रूपैयाँ बढी हो ।
सरकारको मातहतको खाद्य संस्थानले पहुँचवाला र आफनो अनुकुल अनुसार समर्थन मूल्यमा धान खरिद गर्ने डुमरवानाका किसान माधव पाण्डेको आरोप छ ।
सरकारमा कर्मचारीतन्त्र हाबी भएकाले साना किसानलाई त धानको समर्थन मूल्य तोकेकोमा ‘कागलाई बेल पाक्यो हर्ष न बडाई’ भने जस्तो भएको उनको भनाई छ ।
गत वर्ष बाराका किसानले सरकारी मूल्य पाउने आशामा खाद्य संस्थान वीरगन्जमा बेच्न लगेको धान विभिन्न कारण देखाएर संस्थानले खरिद गर्न नकिने बताएपछि व्यापारीको मूल्यमा बेच्न बाध्य भएको किसान मनहर्वाका प्रदिप मगरले गुनासो गरे ।
यता तराईको धानको मूल्य भने सरकारले तोके जस्तो नहुने र भारतको मूल्यमा निर्भर हुने भएकाले समर्थन मूल्यमा सरकारले नै खरिद गर्नुपर्ने संघका अध्यक्ष मिश्रीलाल सहनी बताए ।