काठमाडौं । यस वर्षको मनसुनमा कोशी प्रदेश र मधेश प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेश प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा १ लाख १३ हजार परिवारका झण्डै ५ लाख मानिस विपद्बाट कुनै न कुनै रूपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । बढी पानी पनि सोही क्षेत्रमा पर्ने र बाढीपहिरो तथा डुबानका घटना हुन सक्ने अनुमान गरिएको उनले बताए ।
कोशीमा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा ५ हजार परिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ ।
त्यसपछि मधेश प्रदेशमा ९८ हजार घरपरिवारका ४ लाख ३० हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ । कूल २० हजार प्रत्यक्ष प्रभावित हुने तथा ४ हजार घरपरिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आकलन छ ।
तेस्रोमा लुम्बिनी प्रदेशका ७७ हजार घरका ३ लाख ३६ हजार ५५८ व्यक्ति प्रभावित हुने अनुमान छ । लुम्बिनी प्रदेशमा १५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने र ३ हजारलाई उद्धार र राहतको आवश्यकता पर्न सक्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
बागमती प्रदेशमा ३३ हजार ३७१ घर परिवारका १ लाख ४६ हजार, गण्डकी प्रदेशका २५ हजार घर परिवारका १ लाख १० हजार ५५४, कर्णाली प्रदेशमा ११ हजार ५४८ घर परिवारका ५० हजार ४६४ मानिस प्रभावित हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा ५३ हजार घर परिवारका २ लाख ३३ हजार १९० व्यक्ति कुनै न कुनै रूपमा विपद्बाट प्रभावित हुने र त्यसमध्ये ५ हजार घर परिवार प्रत्यक्ष प्रभावित भई १ हजार ५०० घरलाई प्रत्यक्ष राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ ।
विभिन्न विश्लेषणका आधारमा उक्त अनुमान गरी सोही अनुसार प्रतिकार्यका लागि राष्ट्रिय योजना बनाएर विपद् व्यवस्थापनको पूर्व तयारी गरिरहेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए । यसपटक सरकारले गृह मन्त्रालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरी विपद् व्यवस्थापन कार्य अघि बढाएको छ । विपद् क्षेत्रमा आधा घण्टामा टोली पुग्ने गरी तयारी गरिएको गृह मन्त्रालयले जनाइसकेको छ ।