काठमाडौं । नेकपा एकीकृत समाजवादीले १०औं राष्ट्रिय महाधिवेशनमा उमेरको हदबन्दी हटाइएपछि नेताहरूमा महाधिवेशनको उत्साह देखिएको छ ।
महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरूलाई नेतृत्वका लागि अवसर उपलब्ध गराउन उमेरको हदबन्दी हटाइएको पार्टीले जनाएको छ ।
अग्रज नेतालाई विभिन्न पदमा प्रतिस्पर्धाका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो । यसअघि पार्टीले ७० वर्षभन्दा माथि उमेर समूहका नेता तथा कार्यकर्तालाई कार्यकारी पदमा जान नपाइने व्यवस्था गरेको थियो । यसपटक सो नियमलाई परिमार्जन गरी उमेरको हदबन्दी हटाएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
पार्टी सञ्चालनका लागि वैचारिक नीति तथा कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने जनाइएको छ । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान ल्याएको पार्टीले महाधिवेशनमा पेश गरिने ४ वटा दस्तावेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको छ ।
असार मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाइसक्नुपर्ने समय सीमा तोकिएको छ । महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीसँग पार्टीले जानकारी लिएको छ ।
महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र सांगठानिक गरी ४ दस्तावेजमा सबै जिल्ला तहबाट थप सुझाव लिन पार्टी मातहतका कमिटीमा दस्तावेजको मस्यौदा पठाइएको छ । दस्तावेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने तयारी भएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिए ।
महाधिवेशनका लागि पार्टी केन्द्रले लोगो समेत निर्माण गरेको छ । नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको लोगोमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ । ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादी बाटोमा अगाडि बढौं’ भन्ने सन्देश लोगोमा उल्लेख छ ।
पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरिने कार्यक्रम छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १४ वटा कमिटी निर्माण गरिएको छ । ती कमिटीले जिम्मेवारीअनुसार कार्य सम्पादन गरिरहेको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले बताए ।