काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ ग्रहण गरेका हुन् । जनमत पार्टीका सांसद सिंह आज मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।
यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरु सबैले आजै शपथ ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् ।
त्यस्तै, नेकपा (एमाले) बाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट संसदीय दलका नेता नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, बेची लुङ्गेली ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री, नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।