नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरूको अनुगमन गरेर कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखा प्रमुख प्रवीण रानाले अनुगमनका कममा दिएको निर्देशन पालना नगरे आगामी आर्थिक वर्षमा पालिकाभित्रका सहकारीलाई खारेजीसम्मका प्रक्रियामा लैजान सकिने जानकारी दिए ।
‘बैठक समयमा नबसेको, ऋण दिँदा कागजात नमिलेको लगायत विभिन्न समस्या देखिएका छन्,’ प्रमुख रानाले भने । उनले ऋणीले रकम फिर्ता नगर्दा बचतकर्ताले बचत नपाएको अवस्था पनि रहेकाले त्यसलाई सुधार गर्न निर्देशन दिइएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्र ११२ सहकारी छन् तर उपमहानगरपालिकाले सम्पर्कमा आउन गरेको सूचनामा जम्मा ६९ सहकारी मात्रै सम्पर्कमा आएको बताइएको छ । ‘निष्क्रिय सहकारी निश्चित गरेका छैनौं, एकपटक फेरि सूचना जारी गरेर निष्क्रियलाई खारेजीको प्रक्रियामा जान्छौं,’ सहकारी शाखा प्रमुख रानाले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाले बचत तथा ऋण सहकारीको अनुगमनलाई प्राथमिकता दिएको छ । सहकारी शाखा प्रमुख राना प्रत्येक वर्ष एकपटक सहकारीमा पुग्ने योजना रहे पनि जनशक्ति अभावले सम्भव नभएको बताउँछन् । ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा चालू आवको अन्त्यसम्म पुग्ने प्रयास गरिनेछ,’ उनले भने ।
उपमहानगरपालिकाको सम्पर्कमा रहेका आधा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।
उपमहानगरपालिकाले सहकारी सुधार अभियानअन्तर्गत नगरभित्रका सहकारीको अनुगमन गरिरहेको छ । चालू आवमा १५ सहकारीमा अनुगमन भइसकेको छ । सहकारी अनुगमनका लागि सहकारी शाखा प्रमुखको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको छ ।
उनले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको उल्लेख गर्दै लापरबाही भेटिए सहकारी ऐनबमोजिम कारबाही गरिने प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब एक्सनमा जानुको विकल्प छैन ।’
नेपालगञ्ज उपमहानगरपालिकाले चालू आवमा नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम पनि दिएको थियो । उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी तथा गरीबी निवारण व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो ।