सुदूरपश्चिम । रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले धनगढीमा जेठ २७ र २८ गते ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको संयुक्त आयोजनामा हुन लागेको मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव वसन्त बोहराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । मेलाले रोजगारीका अवसर सिर्जना गर्ने, सीप विकास प्रवद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको बोहराले बताए ।
नेपालमा कतिपय काम गर्ने दक्ष श्रमिकको अभाव हुँदा बाहिरबाट मगाउनुपर्ने अवस्था छ । रोजगारदाताले आवश्यकता अनुसारको दक्ष श्रमिक नपाउने अवस्था रहेकामा यस्ता मेलाले श्रमिकको अभाव केही हदसम्म हटाउन टेवा पुग्ने आशा गरिएको छ ।
श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिम्खडाले धनगढीमा हुन लागेको मेलामा ३५ निजी क्षेत्रका स्टलहरू रहने जानकारी दिए । उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन हुने जनाइएको छ । मन्त्रालयको पहलमा प्रदेशहरूमा मेला सञ्चालन भइरहेका छन् ।
मेलामा सुरक्षा निकाय, आईएलओ, स्विस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैंकर्स एशोसिएशन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्रको सहभागिता रहनेछ । प्रत्येक प्रदेशका स्थानीय तहहरू, नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, टे«किङ एजेन्सी एशोसिएशन अफ नेपाल, नेपाल माउन्टेरिङ एशोसिएशन, सेभ द चिल्ड्रेन, वल्र्डलिंक कम्युनिकेसन र एभरेष्ट नेटको पनि सहभागिता हुने आयोजकले जनाएको छ ।