धनगढी । सुदूरपश्चिम प्रदेश सभाको शुक्रबारको बैठकमा सुदूरपश्चिम प्रदेशसभा नियमावली संशोधनका लागि पेश गरिएको प्रस्ताव पारित गरिएको छ ।
बैठकमा नियमावली संशोधन मस्यौदा समितिका सभापति विक्रमसिंह धामीले सभाबाट संशोधन नियमावली पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।
यसअघि नियमावलीमाथि सभामा दफावार छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरू मानबहादुर रावल, राजेन्द्रसिंह रावल र अक्कलबहादुर रावलले प्रदेश सभाको नियमावली संशोधन सान्दर्भिक रहेको बताए ।
संशोधन नियमावलीमा प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम, प्रत्यायोजित व्यवस्थापन सम्बन्धी कानूनी व्यवस्था, अध्यादेशको कार्यविधि र विषयत समितिका काम, कर्तव्य तथा अधिकारबारे थप स्पष्टता पार्ने, अध्यादेश पेश गर्नेदेखि पारित गर्नेसम्मका प्रक्रियागत व्यवस्थाजस्ता विषय थपिएको छ ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै नियमावली संशोधन मस्यौदा समितिका सभापति धामीले प्रदेशसभा नियमावलीको संशोधनले प्रदेश सभाका सांसदको संसद्भित्रको हक र अधिकारको ‘ग्यारेन्टी’ गर्ने बताए ।
शुक्रबारकै बैठकमा सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन र सञ्चालन तथा सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । छलफलमा नेपाली कांग्रेसका तुल्सी देवकोटा र नेकपा माओवादी केन्द्रका शिवसिंह ओलीले भाग लिएका थिए ।