महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आंगिक क्याम्पसको अतिक्रमित सयौं बिघा जमिन खाली गराउन पहल थालेको छ ।
सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आंगिक क्याम्पस अन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा जग्गा अतिक्रमण हटाउन पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । विक्रम संवत् २०६२ सालमा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि ३८० बिघा जग्गा उपलब्ध गराएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा.डा. हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियान सञ्चालन भइरहेकाले सरोकार भएका निकायले पनि विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउन पहल गर्नुपर्नेमा जोड दिए । टीकापुरस्थित क्याम्पस परिसरमा ३८० बिघा जग्गा रहे पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको उनको भनाइ छ ।
३०० बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ । विश्वविद्यालयले वास्तविक पीडितको पहिचान गरी व्यवस्थापनमा ध्यान दिएर विश्वविद्यालयको जमिन खाली गराउन सम्बन्धित निकायले अग्रसरता लिनुपर्नेमा जोड दिएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कूलपति समक्षसमेत आग्रह गरिएको बताए । ‘केन्द्रस्तरको पहलबाट मात्रै अतिक्रमित जमिन खाली गराउन सकिने भएकाले केन्द्रीय तहबाटै पहल हुनु आवश्यक छ,’ उनले भने, ‘विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा आएका छन् ।’
विक्रम संवत् २०६३ सालदेखि क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताए । उनले पछिल्लो समय गृह मन्त्रालयबाट सार्वजनिक जग्गा सम्बधी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपुर्जा सहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेश गरेको उनले जानकारी दिए ।
‘गृहको सूचनापछि हामीले पनि प्रशासनमा कागजात पेश गरे पनि सुनुवाइ भएको छैन । गृहको सूचनाका आधारमा महेन्द्रनगर लगायत शहरमा अतिक्रमण भएका जमिन खाली भइरहेको छन्,’ क्याम्पस प्रमुख रावलले भने । उनका अनुसार क्याम्पस परिसरको जग्गामा करीब १ हजार ५०० परिवारले टहरा बनाएर बसेका छन् ।
‘हामीले कृषि एजी कार्यक्रम सञ्चालन गरेका छौंै, यसमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक परीक्षण गर्न ठाउँ अभाव भइरहेको छ,’ क्याम्पस प्रमुख रावलले भने, ‘विद्यार्थीको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा समस्या छ ।’ उनले पछिल्लो समय जग्गा अतिक्रमणको विषय महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख भएको बताए ।
यसअघि अतिक्रमण हटाउनका लागि स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन् ।