काठमाडौं । झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा सो सवस्टेशन निर्माण भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ¥याङमा नै दुई सय २० र एक सय ३२÷११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ ।
मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम पनि चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।
आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनै लागेको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौँडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौँडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए ।
विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीका कारणले सबस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिक पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आई नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो ।