कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउने गरी काम गरिरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले शनिबार धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा उनले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘नीति तथा योजना आयोगको अध्यक्षका हैसियतमा पनि प्रदेशको विकासका लागि यहाँ व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा ग्रहण गरिने छ । आगामी दिनमा परिषद् बैठक नियमित गर्न र आयोगलाई थप प्रभावकारी बनाउन मेरो सधैं सहयोग रहनेछ,’ उनले भने ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको दीर्घकालीन विकासका लागि विज्ञहरू सम्मिलित छलफलहरू निकै उपयोगी हुने धारणा राखे । उनले प्रदेशको विकासका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताए ।
‘प्रदेशको विकासका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, कांग्रेस विकासका मुद्दामा सधैं सरकारलाई सहयोग गर्न तयार छ । बेलाबेला हुने यस्ता छलफल तथा संवादहरूले प्रदेशमा विकासको खाका र भविष्यको बाटो तय गर्न सघाऊ पुर्याउँछ, सरकारले निष्कर्षहरूलाई ग्रहण गर्न सक्नुपर्छ,’ उनको भनाइ थियो ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले वित्तीय हस्तान्तरण नीति स्पष्ट हुनुपर्ने बताए । उनले विकास आयोजना जनताको घरदैलोमा पुग्ने गरी बजेट विनियोजन हुनुपर्नेमा समेत जोड दिए ।
भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले बजेट अभावमा कृषि मन्त्रालयले सोचेजस्ता काम गर्न नसकेको बताए । ‘एकातिर बजेटको अभाव छ, अर्कातिर कर्मचारी छैनन्, कसरी काम गर्ने ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, प्रदेशका मुख्यसचिव, प्रदेश सचिवहरू, अधिकारकर्मी, विभिन्न विषयका विज्ञहरू, सञ्चारकर्मी लगायतले विभिन्न विषयहरूमा आ–आफ्नो धारणा र सुझाव व्यक्त गरेका थिए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए ।