बझाङ । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ ।
तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको २१० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ ।
विद्युत् प्राधिकरण चैनपुर सेती जलविद्युत् आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले तीनवटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको छ । एउटा अडिट सुरुङ १३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ ।
एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको छ ।
४ वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्राधिकरणले आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
६ वटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले ३ वटाको निर्माण भइरहेको जनाएको छ । अहिले अडिट नम्बर ३, अडिट नम्बर ६ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको इन्जिनीयर रोशन खड्काले जानकारी दिए ।
उनका अनुसार ४५० मिटर लम्बाइको अडिट नम्बर ३ मा सबैभन्दा बढी १३० मिटर सुरुङ खनिएको छ । ‘बीचमा कुनै अवरोध नआए ५ वर्षमा ६ वटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर थप १ वर्षमा बाँध लगायतका काम गर्दै बिजुलीको बाल्ने तयारीमा छौं,’ उनले भने ।
चट्टान भएको ठाउँमा धेरै समय लाग्ने गरेको इन्जिनीयर लोकेन्द्र कार्कीले बताए । उनले सुरुङ निर्माण गर्न चट्टान भएको ठाउँमा १ दिनमा १ मिटरसम्म खन्ने गरेको बताए । उनले ब्लाटिङ गर्नुपर्ने ठाउँमा दिनमा १ मिटर हुन्छ भने माटो बढी भएको ठाउँमा दिनमा ५ मिटरसम्म पनि काटिने गरेको बताए ।