संखुवासभा । विना कुनै अवरोध नियमित काम हुने हो भने अबको १ वर्षभित्रै संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ ।
भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी) को करीब १ खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करीब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।
आयोजनाबाट ९०० मेगावाट विद्युत् उत्पादन हुनेछ । जसबापत नेपालले २१ दशमलव ९ प्रतिशत अर्थात् करीब २०० मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ । बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ । विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ ।
आयोजनाको ११ दशमलव ८ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को ‘ब्रेक थ्रू’का अवसरमा निर्माण कम्पनी एसएपीडीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी १ वर्षभित्रमा विद्युत् उत्पादन हुने जानकारी दिए ।
‘काम नियमित भयो भने आगामी १ वर्षभित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ,’ उनले भने ।
सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्तिमा पनि सरकारबाट सोहीअनुरूप सहयोगको अपेक्षा गरेको उल्लेख गरे । उनले भने, ‘आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौं ।’
शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । ‘उच्चस्तरीय समिति गठन गरी लगानी बोर्ड र सम्बन्धित मन्त्रालयका सचिवसम्मिलित समूहसँग मासिक रूपमा बैठक बस्ने र आजोजनाको समीक्षा गरी समयमै निर्माण सम्पन्न गर्ने विषयमा म सरकारसमक्ष आग्रह गर्दछु,’ उनले भने ।
आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) ३ दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७ दशमलव ३ मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९ दशमलव ७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६ दशमलव ५० प्रतिशत भइसकेको छ ।
मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कंक्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । १५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कंक्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका–३ पुकुवामा रहने विद्युत् गृहमा ३ वटा टर्वाइनमध्ये २ वटा टर्वाइनको जडान सकिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि ५९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् ३०५ वटा टावर निर्माण भइसकेको छ । साथै २१७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ ।
आयोजनाको शिलान्यास विक्रम संवत् २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा संयुक्त रूपमा गरेका थिए । विक्रम संवत् २०७१ मंसिर १० गते आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
सुरुङ ‘ब्रेक थ्रू’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दीगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले उक्त आयोजना सञ्चालनमा आएपछि मुलुकको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले आयोजनाबाट उत्पादन हुने ९०० मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५०० मेगावाट पुर्याइने बताए । ‘आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्र समेत सहभागी हुने गरी कानूनी प्रबन्ध गर्ने, जलाशययुक्त आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ,’ प्रधानमन्त्री दाहालले भने ।
त्यसअवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई यस आयोजनाले सहयोग पुर्याउने बताएका थिए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि भएको सम्झौता कार्यान्वयन गर्न यो आयोजना महत्त्वपूर्ण भएको बताए ।