धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जेठ २८ गतेदेखि जनकपुरमा हुने राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
महाधिवेशनको विषयमा जानकारी दिन शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशभरबाट १ हजार ३०० प्रतिनिधि सहभागी हुने र अधिवेशनको सम्पर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, वैचारिक, नीतिगत दस्तावेज तयार भएको र अब ३ दिनसम्म व्यापक बहस तथा छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिने बताए । महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने पनि त्यस अवसरमा जानकारी दिइयो ।
अध्यक्ष यादवले केही सांसदहरू विभिन्न लोभमा पार्टीबाट अलग भए पनि पार्टी एक ढिक्का रहेको धारणा राखे । महाधिवेशनबाट पार्टी थप सशक्त भएर जनतामाझ जाने उनको भनाइ थियो ।
‘सत्ता, शक्तिको प्रलोभनमा परेर केही साथीहरू पार्टीबाट चोइटिएर जानुभयो, निर्वाचन आयोगले समेत दबाबमा परेर उहाँहरूलाई सहज हुने गरी पार्टी दर्ता गर्यो । यो अत्यन्त निन्दनीय र गलत कार्य हो । यसबाट विचलित नभई अब महाधिवेशनपछि थप सशक्त भएर अगाडि बढ्नु छ,’ अध्यक्ष यादवले भने ।
आफू विदेश रहेकै बेला षड्यन्त्रपूर्वक पार्टी फुटाउने काम भए पनि ९९ सय प्रतिशत नेता तथा कार्यकर्ताहरू मूल पार्टीमै रहेको उनको दाबी थियो ।
अध्यक्ष यादवले आगामी दिनमा संघीयता र समावेशिता पक्षधरहरूसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताए ।
अर्को प्रसंगमा उनले विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको काम कूटनीतिक मर्यादाविपरीत भएको आरोप लगाएका छन् ।