काठमाडौं । तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्क उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहोरमैला निःशुल्क उठाउने गरेको हो ।
नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहोर मैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । ‘घर–घरबाट फोहोर मैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ’, उनले भने ।
नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायत स्थानबाट फोहोरमैला उठाउने गरेको त्रिपाठीले बताए ।
‘नगरपालिकाभित्र फोहरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ’, उनले भने ।
फोहोर मैला भानुका–१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ ।
सबै वडाबाट सङ्कलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । उक्त जग्गा नगरपालिकाले फोहर व्यवस्थापनका लागि खरिद गरेको हो ।