काठमाडौं । टी-२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।
प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई सस्तैमा समेट्दै १३४ रनले पराजित गरेको हो । वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो ।
युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अंक जोड्ने मौका नै पाएनन् ।युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेष्टइन्डिजका अकिल हुसैनले एक्लै ५ विकेट लिए । यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२/२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।
युगान्डाका ब्रायन मसाबाले २, दिनेश नाक्रानी, कसमस केइवुता र अल्पेश रामजानीले एक/एक विकेट लिए । जारी विश्वकपमा युगान्डाले बनाएको यो सबैभन्दा कम रन हो। यसअघि अफगानिस्तानको खेलमा युगान्डा ५८ रनमै अलआउट भएको थियो। सन् २०१४ को विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १०.३ ओभरमा अलआउट गर्दै ३९ रनमै रोकेको थियो। यो नै विश्वकपमा बनेको सबैभन्दा कम स्कोर थियो।
जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो।
युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो।