काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवेदन खुलेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार पाइलट प्रोग्रामको रूपमा पहिलो चरणमा १ सय जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलेको हो । बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखी तीन महिनासम्म आवेदन दिन सक्नेछन् ।
श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोर्टल बनाएको छ । मन्त्रालयको एप्लिकेसन पोर्टलमार्फत नेपाली नर्सले जुलाई २१ देखि अक्टोबर १९ सम्ममा अर्थात् तीन महिनासम्म आवेदन दिन पाउनेछन् ।
आवेदन दिन न्यूनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबै नर्सहरु योग्य हुनेछन् ।
बेलायत जान आवेदन दिने नर्सले आईईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ। कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु उल्लेख गरिएको छ ।
रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा दिनुपर्छ ।
यसरी रोजगारीका लागि जाने नर्सहरूले ५ वर्ष मात्र काम गर्न पाउने छन् ।
नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौ महिनामा दुई देशबीच सम्झौता भएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम मन्त्रालयका सचिव र नेपालका लागि बेलायती राजदूतबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता भएको लामो समय प्रोटोकलमा अड्किएको थियो ।
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।