काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गरेका छन् ।
भारतको २ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आईतबार भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको संज्ञा दिए ।
उनले भारतका लागि नेपाली राजदूत शंकर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले मन्त्रिपरिषद्मा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान नपुगेको स्वीकार गरे ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने उल्लेख गरे । भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायत विषयमा महत्त्वपूर्ण छलफल भएको उनले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग २ देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्ने लगायतका विषयमा छलफल भएको उल्लेख गरे । उनले अब ती विषयमा सकारात्मक समाधान निस्किनेमा आफू आशावादी रहेको बताए ।
उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालको साथमा सुपुत्री गंगा दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ अधिकारी सहभागी थिए ।