काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ९ जनालाई पक्राउ गरेको छ ।
ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, ‘ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका ९ जना पक्राउ परेका छन्, अभिषेक बज्राचार्यलाई सुनसरीबाट आज पक्राउ गरिएको हो ।’ यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतम सहितका अन्य कर्मचारी पक्राउ परेका थिए ।
सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार कर्जा प्रवाह गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ ले बढी पाइएको सीआइबीको दाबी छ । बयानपछि पक्राउ परेका सबै गत चैतमा हाजिर जमानीमा छुटेका थिए ।
हाल सेञ्चुरी बैंक प्रभू बैंकमा गाभिइसकेको छ । देउराली बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंको योजना र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ न्यौपाने, त्यसअघिका सीईओ गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याएको आरोप छ ।
बचतकर्ताको ७ अर्ब हिनामिनाको आरोप लागेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा रहेका छन् । देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको उनीहरूमाथि आरोप लागेको छ ।