काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
मन्त्रालयको लैंगिक समानता तथा सामाजीकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे सोमबार सरोकारवालाबाट सुझाव संकलन गरिएको बताइन् ।
सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसा सम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैंगिक हिंसामा परेका व्यक्ति गरी करीब ३०० जनाको सहभागी हुने कार्कीले जानकारी दिइन् । ‘मुलुक संघीयता गइसकेपछि पनि लैंगिक हिंसा व्यवस्थापन संघले नै गर्नुपर्छ भन्ने बुझाइ छ । यो सम्मेलनमार्फत अब लैंगिक हिंसा व्यवस्थापन संघको मात्र नभई प्रदेश र विशेषगरी स्थानीय तहको हो भन्नेबारेमा साझा बुझाइ बनाउन सघाउ पुग्नेछ,’ उनले भनिन् ।
केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १० हजार ५३३ लैंगिक हिंसामा परेका व्यक्तिको उपचार गरिएको तथ्यांक छ । तीमध्ये ५७१ पुरुषले रहेका छन् । केन्द्रमा बलात्कार पीडित १ हजार ७५४ जना, यौन हिंसा पीडित १ हजार २९६ र शारीरिक हिंसा २ हजार ८९७ जना र जबरजस्ती विवाहबाट पीडित ४९४ जना रहेका छन् ।
मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजन लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् । केन्द्रले लैंगिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानूनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनर्मिलन गराउने लगायतका कार्य गरिरहेका छन् ।