काठमाडौं । एक सय जना नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवेदन खुलेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
रोजगारीका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । आवेदन फारम भर्न नेपाली नर्सले https://ferms.dofe.gov.np/auth/login मा गएर जुलाई २१ देखि अक्टोबर १९ सम्म आवेदन दिन सक्नेछन् ।
अनलाइनमा गइसकेपछि आफ्नो युजर आईडी बनाउनुपर्छ । रजिष्ट्रेशन गर्दा आफ्नो पासपोर्ट नम्बर, जन्ममिति, आफ्नो पुरा नाम, इमेल, फोन नम्बर सबै पेश गर्नुपर्नेछ । सोही आधारमा अनलाइनमा रजिष्ट्रेशन हुनेछ । र त्यही आधारमा आवेदन फारम भर्न सकिनेछ ।
यसका लागि विभिन्न मापदण्ड तोकिएको छ । हेल्य केयर असिस्टेन्ट (स्वास्थ्य सहायक) पदका लागि जान पाउनेछन् । नर्सहरूले हप्तामा ३७.५ घण्टा काम गर्न पाउनेछन् । वार्षिक २७ दिन र सार्वजनिक विदाको दिन बिदा पाउनेछन् । उनीहरूले पहिलो तीन महिनाका लागि आवास सुविधा निःशुल्क हुनेछ । ओभरटाइम बेलायत सरकारको नियमानुसार हुनेछ ।
उनीहरूलाई तीन वर्षका लागि समयावधि तोकिएको छ । यसमा थपघट हुन सक्नेछ ।
स्वास्थ्य सहायकको रूपमा स्टाफ नर्स, बिएस्सी तथा बीएन नर्स, मास्टर डिग्री नर्सले आवेदन दिन सक्नेछन् । उनीहरूले नर्सिङ लाइसेन्स लिएर दुई वर्ष कार्यअनुभव लिइसकेको हुनुपर्नेछ ।
नेपाल र बेलायतबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा एक सय जना नर्सका लागि आवेदन खुलाइएको हो ।