काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजनले) आज यहाँ आयोजना गरेको ‘सूचना प्रविधि दशकः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको संबाहकका रुपमा अघि बढाएको बताए ।
“आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रको विकासलाई केन्द्रमा राखेको छ”, अर्थमन्त्री पुनले भने, “विगतमा कृषिलाई अर्थतन्त्रको आधार मान्दै आएका थियौं । अहिले पनि कृषि क्षेत्र प्राथमिकतामै छ । सँगसँगै जलविद्युत् पर्यटनलगायतका क्षेत्र पनि प्राथमिकतामै छन् । अहिले सूचना प्रविधि क्षेत्र पनि आएको छ ।”
जलविद्युत् क्षेत्रको विकासका लागि डेढ दशकअघि सरकारले लिएको नीतिको निरन्तरता अहिलेसम्म पनि कायम रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले सरकार परिवर्तन हुँदैमा सरकारका नीति परिवर्तन नहुने स्पष्ट पारे । सूचना प्रविधि क्षेत्रको विकासका लागि नयाँ प्रविधिमैत्री पूर्वाधार निर्माण गरेर अवसर सिर्जना गर्नेबारे नीति निर्माताले सोच्नुपर्ने उनको जोड छ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत् सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि लगानी दशक घोषणा गरेको छ । राष्ट्रिय अर्थतन्त्रको सम्भाव्यता विश्लेषणको आधारमा आर्थिक वृद्धिका प्रमुख सम्वाहक क्षेत्र पहिचान गरी उच्च दरको आर्थिक वृद्धि हासिल गर्न र एकीकृत आर्थिक कोरिडोर विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने बजेट वक्तव्यमा उल्लेख छ ।
त्यस्तै, सूचना प्रविधि क्षेत्रको विकासका लागि नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने बजेटमा उल्लेख छ । सूचना प्रविधि क्षेत्रमा अबको १० वर्षमा रु ३० खर्बको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१÷८२ लाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाइने उल्लेख छ ।
सूचना प्रविधिका नवीनतम् प्रविधि अबलम्बन गर्न कानुनी आधार तयार गर्ने र कृतिम बौद्धिकताको विकास तथा त्यसको त्यसको प्रवद्र्धन र नियमनको व्यवस्था गरिने पनि बजेटमा जनाईको छ ।