काठमाडौं । कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्स लगायतका देश पठाइदिन्छु भनी ३०० भन्दा बढी व्यक्तिबाट १५ करोड ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेकाहरूमा चितवनको भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन विक र कास्कीकै पोखरा महानगरपालिका–८ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–८ बस्ने २३ वर्षीय पवन पन्त छन् ।
फेसबूक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा फेक आईडी प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भनी आकर्षक तलब, भत्ता सहितको विज्ञापन गरी सम्पर्कमा आएकाहरूलाई ठगी गर्ने गरेका थिए । ठगीको सम्बन्धमा उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
कार्यालयका कर्मचारीहरूको खातामा विदेश जान सम्पर्कमा आएका मानिसबाट रकम जम्मा गर्न लगाइ चेकबाट रकम निकालेर विभिन्न खातामा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उनीहरूले भिसा प्रक्रिया चलिरहेकाले भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात देखाइ टिकट र डलर साट्न पैसा लाग्ने भन्दै प्रतिव्यक्ति ५ लाखदेखि १० लाखका दरले पैसा लिएका थिए ।
ठगी सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।