काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अभियोगमा १ जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–३२ पुरानो सिनामंगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।
पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका निज नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा ४ करोड ३३ लाख ६८ हजार ११२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पुर्याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोे छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति रु १० लाखसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट सोमबार पक्राउ गरी काठमाडौं ल्याएको छ ।
ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा ३८ लाख ३५ हजार र दुर्गाबहादुर वलीले विभिन्न मितिमा ८ लाख २० हजार रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । निजले अमेरिका पठाउने भन्दै हालसम्म करीब ८ देखि १० जना व्यक्तिबाट रकम लिएको र युरोप पठाए बापत प्रतिव्यक्ति ८ देखि १० लाखसम्म रकम लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
अभियुक्त नारायणकुमार खड्काको खातामा जम्मा भएको रकममध्ये ४ करोड ३२ लाख २६ हजार १०१ दशमलव ७३ पैसा झिकिसकेको र हाल खातामा १ लाख ४२ हजार ५ दशमलव ८२ पैसा मौज्दात रहेको प्रमुख भट्टराईले जानकारी दिए ।
पक्राउ परेका खड्कालाई विभिन्न कार्यालयबाट ८ वटा बैंकिङ कसूर र एउटा ठगी मुद्दा (जम्मा बिगो ७८ लाख ८८ हजार बिगो बराबर) चलेको देखिएको प्रहरीले जनाएको छ । निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।